हामी सबैको शान,

समृद्ध सुनकोशी हाम्रो अभियान

header AD
संक्षिप्त विवरण

सुनकोशी गाउँपालिकाको एक संक्षिप्त परिचय ।
नेपाल सरकारले नेपालको संविधान,२०७२ बमोजिम नेपालको स्थानीय निकायको पुनर्संरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेको प्रतिवेदनलाई आधार लिई मिति २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो । जस अनुसार सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित साबिक कुशेश्वर दुम्जा, झाँगाझोली रातमाटा, पुरानो झाँगाझोली, सितलपाटी र मझुवा ५ गा.वि.स. समेटी स्थापना गरिएको क्षेत्र नै सुनकोशी गाउँपालिका हो । यस गाउँपालिकाको नामाकरण प्रसिद्ध ठुलो सप्तकोशीको सहायक नदी सुनकोशीलाई आधार मानी गरिएको छ । पूर्वमा गोलान्जोर गाउँपालिकाको सिमा क्षेत्र, पश्चिममा काभ्रे जिल्लाको रोशी गाउँपालिका, उत्तरमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका र दक्षिणमा घ्याङलेख गाउँपालिका र कमलामाई नगरपालिका सीमा क्षेत्र फैलिएको यस गाउँपालिकाको भौगोलिक कुल क्षेत्रफल १५४.६८ वर्ग कि.मि. र वडा संख्या ७ रहेको छ । भौगोलिक धरातलीय रूपमा ससाना टार देखि खोल्सा खोल्सी, अल्ली होचो डाँडा काँडा हुँदै महाभारत श्रृंखला सम्मको भूभाग रहेको छ । यस गाउँपालिकाको विभिन्न भागबाट खोला नालाहरू बगी सुनकोशी नदीमा समाहित भएका छन् । तिनै खोलानालाहरूलाई आधार मानि वडाहरूको प्राय सिमांकन कायम भएको छ । यहाँको हावापानी नेपालको हिमाल पहाड तराई जस्तै तिन प्रकारको रहेको पाइन्छ । यस गाउँपालिका २७.४१८१ डिग्री उत्तर अक्षांश र ८५.८५७५ डिग्री पूर्व देशान्तरमा रहेको छ ।

मानवीय रूपमा यस गाउँपालिकामा बाहुन, क्षेत्री, तामाङ, मगर, नेवार, विश्वकर्मा, दमाई, सार्की, माझी, हायु, सुनुवार लगायतका विभिन्न जातजिऊ बसोबास रहेको छ । यस गाउँपालिकाको कुल जनसंख्या १८३७५ छ । मानवीय चेतना तथा भौतिक, आर्थिक र पूर्वाधार विकासको दृष्टिकोणबाट यस गाउँपालिका पिछडिएको देखिन्छ । पर्यटकीय हिसाबले कुशेश्वर महादेव मन्दिर, फापर चुली, वि.पी. पार्क, सहिद स्मारक, सुनकोशी नदीमा जलयात्रा गरेर विभिन्न मठमन्दिर, गुम्बाहरूले महत्व बोकेको स्थानको रूपमा रहेको छ ।

दक्षिण तर्फ महाभारत श्रृंखला र उत्तर तर्फ सुनकोशी नदीको बीचमा अवस्थित यस गाउँपालिका जैविक विविधता र प्राकृतिक स्रोतका हिसाबले महत्वपूर्ण रहेको छ । साना ठूला खोला, पहराबाट सिञ्चित भई आएको यो क्षेत्र परम्परागत कृषि पेसा र अन्न र पशुजन्य उत्पादनको प्रचुर सम्भावना बोकेको छ । परम्परागत कृषिमा निर्भर रहेको यो क्षेत्रमा पशुपालन, तरकारी तथा फलफूलको व्यावसायिक खेती गर्ने प्रचलन बढ्दै गएको छ भने मौसम अनुसारमा धान मकै गहूँ लगायतका धानबालिकाको उत्पादन वृद्धि गरी स्वरोजगार रोजगार र कृषि व्यवसायको तर्फ उन्मुख दीर्घकालीन र अल्पकालीन योजना तर्जुमा तयार गर्दै कार्य भइरहेको छ । यस गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पकेट क्षेत्र र ब्लकका कार्यक्रम सञ्चालन भइरहेको छ, साथै 'एक वडा एक कार्यक्रम' सञ्चालनमा रहेको छ। बहाको  मुख्य पेशा कृषि नै हो ।

यस गाउँपालिकामा १४ वटा स्वास्थ्य संस्था रहेका साथै ४२ वटा सामुदायिक विद्यालय रहेका छ ।

आधारभूत जानकारी
Bagmati
Sindhuli
गाउँपालिका
15468.00 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 18375
Male 9541
Female 8834
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at -
Website -
Map coordinates not available